Advertisement
Skip This

पर्यटकको रोजाइको गन्तव्य बन्दै हेटौँडाको त्रिवेणीधाम 

एक वर्षमा एक लाख पर्यटक, तीन नदीको संगमले बनेको त्रिवेणीधाम
१३ जेठ २०८२ (३ दिन अघि)

 हेटौँडा/धार्मिक पर्यटकीय क्षेत्र हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाम पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । रत्नावली, कर्णावती र कौशवाही नदीको सङ्गम त्रिवेणीधाम अहिले आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेको हो । त्रिवेणीधाममा एक वर्षमा एक लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

 २०८१ सालमा एक लाख दुई हजार पर्यटकले भ्रमण गरेको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति कार्यालय सचिव सरस्वती न्यौपानेले जानकारी दिनुभयो । त्रिवेणीधाममा रहेको सिसमहल अवलोकन गर्न ४० हजार टिकट बिक्री भएको छ । टिकट नकाटी धामभित्रै अवलोकन भ्रमण गर्नेको संख्या अझै धेरै 

रहेको छ । पछिल्लो समय हेटौँडा आइपुग्ने अधिकांश मानिस यहाँ भ्रमणमा आउने गरेको उहाँको भनाइ छ ।

 बारा, पर्सा, रौतहट, चितवन, पोखराबाट आन्तरिक धार्मिक पर्यटक आउने गर्नुभएको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो । विशेष गरेर चितवन बाट त्रिवेणीधाममा धेरै पर्यटक आउने गरेको उहाँको भनाइ छ । बिदाको समयमा दैनिक चारदेखि छ वटा बसमा विभिन्न जिल्लाबाट पर्यटक यहाँ घुम्न आउने गरेका छन् ।

 यहाँ चाडपर्व, नयाँ वर्ष र धार्मिक मेलाको समयमा सयौँ पर्यटक आउने गरेका हुन् । कुष्माण्ड सरोवर त्रिवेणीधाम नदी उकास जमिनमा १०८ गौमुखी धारा, शिवालय, व्यसासन, यज्ञकुण्ड, नागस्थान, बुद्धदर्शन, पार्क, फूल बगैँचा, सङ्ग्रहालयसहित सिसमहल, हेडम्बा नगरीको परिचय सहितको आकर्षणले यहाँ पुग्ने पर्यटकलाई प्रफुल्लित तुल्याउने गरेको छ । धाम धार्मिक मान्यताका आधारमा कुशको जराबाट उत्पत्ति भई चुरियामाईलाई शिर बनाएर उत्तरतर्फ बगिरहेकी कौशवाही उत्तरबाहिनी नदी वंश गोपाललाई शिर बनाएर बगिरहेकी कर्णावती नदी र लटरम्वेश्वर तथा मुकुट पर्वतको ऋषेश्वर आदिलाई शिर बनाएर बगिरहेकी रत्नावली तथा समरावतीसमेत तीन नदीको सङ्गममा अवस्थित छ ।

 हेटौँडा–१०, ११ र १३ नं. वडाको सिमानामा अवस्थित पवित्र सत्य सनातन धार्मिक ग्रन्थहरू स्कन्द पुराणको हिमवत् खण्ड, महाभारतको आदि पर्व, वन पर्व, वराह, वायु पुराण आदिमा यस त्रिवेणीधामको महिमा वर्णन भएको उल्लेख छ ।

 प्रत्येक वर्षको कुष्माण्ड नवमीका दिन कुभिन्डो दान गरेर यहाँ स्नान गर्ने गरिन्छ । स्कन्दपुराणको हिमवत् खण्डको १६ औँ अध्याय ७६ औँ श्लोक र महाभारतको आदि पर्व ५६ औँ श्लोकमा उल्लेख गरे अनुसार १०८ गौमुखी धारामा स्नान गर्दा रोग निवारण हुने र कुष्माण्ड नवमी मेलामा कुभिन्डो दान गर्दा मुक्ति पाउने पुराणमा उल्लेख छ । भक्तजनलाई तापबाट मुक्त गराउने माताका रूपमा कुष्माण्ड परिचित हुनुहुन्छ । कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणीधामले बर्सेनि बृहत् मेला आयोजना गर्दै आएको छ ।

अन्तिम अध्यावधिक: १३ जेठ २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस