

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिलिङ्गेमा दुर्घटनामा परेका बालकको चितवनको भरतपुरस्थित सरकारी अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचारका क्रममा जेठ १२ गते सोमबार राती ११ बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ। हाल मृतक बालकको शवलाई पोस्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको छ।
घरको ऋण तिर्नका लागि विगत केही समयदेखि कुवेतमा वैदेशिक रोजगारीमा रहेकी बालककी आमा अबिशा प्रजा छोराको मृत्युको खबर सुन्नासाथ बेहोस भई ढलेकी छिन्।
हाल उनको कुवेतस्थित एक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। घरमा भएका एकमात्र सन्तानको असामयिक निधन र आमा पनि विदेशमा अस्पताल भर्ना भएपछि पीडित परिवार यतिबेला गहिरो शोक र स्तब्धतामा डुबेको छ।
गत जेठ ७ गते बिहीबार विद्यालयको शिशु कक्षा (Nursery) मा अध्ययनरत सिमरगाउँ निवासी ४ वर्षीय एरोन खेल्ने क्रममा जुत्ता राख्ने फलामको गह्रुँगो र्याक उनीमाथि पल्टिएको थियो।
घटनालगत्तै विद्यालयका शिक्षकद्वय सरोज थापा मगर र वृन्दा लामिछानेको समन्वयमा उनलाई तत्काल उद्धार गरी भण्डारा अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बुबा रामकुमार प्रजा र आफन्तले थप उपचारका लागि भरतपुर अस्पताल पुर्याएका थिए।
र्याकले थिचेका कारण बालकको आन्द्रा, मिर्गौला (किड्नी), फोक्सो र मुटु जस्ता संवेदनशील अंगहरूमा गम्भीर चोट लाग्नुका साथै शरीरमा संक्रमण (Infection) फैलिएकाले चिकित्सकहरूले अथक प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन्।
बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति र कर्मचारीहरूको घोर लापरबाही र गैरजिम्मेवारपनका कारण आफूले एकमात्र सन्तान गुमाउनुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।
विद्यालयमा साना बालबालिकाको सही रेखदेख नहुनु र भौतिक पूर्वाधारको सुरक्षित व्यवस्थापन (फिक्सिङ) नगरिँदा यो भयानक दुर्घटना घटेको पीडित परिवारको ठहर छ। परिवारले विद्यालय प्रशासन र जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कानुनी कारबाहीका लागि अदालत जाने चेतावनी दिएको छ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५