

नेपाल र छिमेकी मुलुकहरूबीच समय–समयमा बल्झिरहने सीमा विवाद राष्ट्रिय सार्वभौमिकता, अखण्डता र नेपाली अस्मितासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो । ऐतिहासिक रूपमा स्पष्ट प्रमाण र दस्तावेजहरू हुँदाहुँदै पनि सीमाका विषयहरू सधैँ बल्झिरहनु र त्यसले नागरिक स्तरमा आक्रोश पैदा गर्नु सुखद संकेत होइन । यस्ता गम्भीर राष्ट्रिय मुद्दाहरूलाई भावना, उत्तेजना वा सडकको नाराबाजीमा आएर भन्दा पनि ऐतिहासिक तथ्य, प्राविधिक नक्सा र अकाट्य प्रमाणका आधारमा टेबलमा बसेर दिगो समाधान खोजिनु आजको मुख्य आवश्यकता हो ।
अन्तर्राष्ट्रिय कानुन र स्थापित विश्वव्यापी मान्यता अनुसार दुई देशबीचको सीमा समस्या सुल्झाउने सबैभन्दा भरपर्दो र परिपक्व माध्यम भनेकै कूटनीतिक संवाद र वार्ता हो । यदि समयमै यसको कूटनीतिक निकास नखोजिए भविष्यमा यसले कस्तो विकराल रूप लिन सक्छ भन्ने कुरा विश्वका विभिन्न देशहरूको इतिहास र वर्तमानले स्पष्ट पारिसकेको छ । सीमा विवाद बेलैमा समाधान नगर्दा देशले ठूलो सैन्य र आर्थिक भार व्यहोर्नुपर्ने मात्र होइन, सीमा क्षेत्रमा बस्ने निर्दोष नागरिकको जीउज्यान र मानवअधिकार समेत स्थायी रूपमा जोखिममा पर्छ ।
छिमेकी मुलुक भारत र चीनबीच सन् १९६२ मा भएको भीषण युद्ध र हालैका वर्षहरूमा लद्दाखको गलवान उपत्यकामा भएको हिंसक सैन्य झडप संवादहीनता र सीमा विवाद बेलैमा निरूपण नगर्दा कै परिणाम थिए, जसले आजसम्म पनि दुई महाशक्तिबीचको सम्बन्धलाई तनावपूर्ण बनाइराखेको छ । त्यस्तै, अर्मेनिया र अजरबैजानबीच नागोर्नो–कारबाख क्षेत्रलाई लिएर भएको दशकौँ लामो विवादले अन्ततः युद्धको रूप लिँदा हजारौँ निर्दोष नागरिकले ज्यान गुमाए र लाखौँ मानिस आफ्नै भूमिमा शरणार्थी बन्न पुगे । रुस र युक्रेनबीचको भूभाग सम्बन्धी विवादले सन् २०२२ देखि लिएको भीषण युद्धको रूप र त्यसको बाछिटाले आज पूरा विश्वको अर्थतन्त्र, इन्धन आपूर्ति र सुरक्षा व्यवस्थालाई नै संकटमा पारेको छ । यी र यस्ता घटनाहरूबाट नेपाल र यसका छिमेकीहरूले गम्भीर पाठ सिक्न जरुरी छ ।
नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील स्थानमा रहेको राष्ट्रका लागि सीमा विवाद लम्बिँदै जानु भनेको वैदेशिक चलखेल र आन्तरिक अस्थिरतालाई निम्तो दिनु सरह हो । उत्तेजक राजनीतिक अभिव्यक्ति वा चुनावी दाउपेचका लागि सीमाको मुद्दालाई हतियार बनाउनेतर्फ कोही पनि लाग्नु हुँदैन । यस्ता कदमले समस्यालाई समाधान त गर्दैनन्, उल्टै थप जटिल र रणनीतिक रूपमा उग्र बनाउँछन् ।
विश्वमा कूटनीतिक माध्यमबाटै ठूला–ठूला र जटिल सीमा विवादहरू शान्तिपूर्ण रूपमा सुल्झाइएका सफल उदाहरणहरू पनि प्रशस्तै छन् । नेपाल आफैँले पनि विगतमा चीनसँगको सीमा विवाद कूटनीतिक र प्राविधिक संवादकै माध्यमबाट सदाका लागि हल गरेको सुखद इतिहास छ । त्यसैले, अहिले देखिएका असमझदारीहरूलाई पनि मैत्रीपूर्ण सम्बन्धमा आँच नआउने गरी, आपसी सम्मान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक टेबल मै सुल्झाउन ढिलाइ गर्नु हुँदैन । यसका लागि सरकारको स्पष्ट अडान, बलियो कूटनीतिक सक्रियता, राष्ट्रिय एकता र छिमेकी मुलुकहरूको सकारात्मक तत्परता अपरिहार्य देखिन्छ । बेलैमा संवाद थालियोस्, भविष्यको विकराल संकट टालियोस् ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५