कोरियाका पूर्व राष्ट्रपति युन सुक योल आजीवन कारावासको सजाय 

अभियोजन पक्षको मृत्यु दण्डको माग थियो
2026-02-19 16:58:30 (३ महिना अघि)

सउल/ दक्षिण कोरियाको अदालतले आज केही बेर अघि पूर्व राष्ट्रपति युन सुक योललाई सन् २०२४ डिसेम्बरमा गरिएको असफल सैनिक शासन (मार्शल ल) घोषणासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावाससहित कठोर श्रम सजाय सुनाएको छ । 

 

लोकतान्त्रिक युगमा निर्वाचित राष्ट्रप्रमुखलाई अधिकतम कैद सजाय सुनाइएको यो पहिलो घटना बनेको छ। अदालतले उनलाई विद्रोहको नेतृत्व गरेको ठहर गर्दै सजाय दिएको हो। दक्षिण कोरियाको कानुन अनुसार विद्रोहको नेतृत्वसम्बन्धी अभियोगमा मृत्युदण्ड श्रमसहित आजीवन कारावास वा श्रमबिनाको आजीवन कारावास गरी तीन प्रकारका सजाय हुनसक्छन्।

 

अभियोजन पक्षले संसद भवन घेराबन्दी गर्न सेना परिचालन गरेको तथा राजनीतिक विपक्षीहरूलाई पक्राउ गर्ने प्रयास गरेको भन्दै मृत्युदण्डको माग गरेको थियो। उनीहरूले यो कदमलाई “संवैधानिक व्यवस्थामाथिको गम्भीर आक्रमण” बताएका थिए।

 

तर युन सुक योलले भने आफू निर्दोष रहेको दाबी गर्दै अनुसन्धानलाई “राजनीतिक षड्यन्त्र” को संज्ञा दिएका छन्। उनले त्यसबेला विपक्षी Democratic Party of Korea ले असंवैधानिक संसदीय तानाशाही गरिरहेको भन्दै जनतालाई सचेत गराउन मात्रै सैनिक शासन घोषणा गरेको बताएका छन्।

 

उक्त घटना करिब ६ घण्टा चलेको थियो र त्यसपछि देशव्यापी राजनीतिक तथा कानुनी विवाद सुरु भएको थियो। अदालतको यस फैसलाले दक्षिण कोरियाको राजनीतिमा ऐतिहासिक मोड ल्याएको विश्लेषण गरिएको छ।

अन्तिम अध्यावधिक: 2026-02-19 16:58:43
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस