इतिहासकै कान्छी उपसभामुख रुवी कुमारी: एक प्रेरणादायी सङ्घर्षको कथा

2026-04-10 20:08:15 (२ महिना अघि)

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित रुवी कुमारी ठाकुर यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । २०८२ सालमा इतिहासकै कान्छी उपसभामुख बनेर नयाँ रेकर्ड कायम गरेकी रुवीको राजनीतिक यात्रा र पारिवारिक पृष्ठभूमि निकै सङ्घर्षपूर्ण र प्रेरणादायी रहेको छ।

पारिवारिक पृष्ठभूमि र प्रारम्भिक सङ्घर्ष

२०५७ सालमा धनुषा जिल्लामा जन्मिएकी रुवीको परिवारको आर्थिक अवस्था सामान्य थियो। उहाँका पिता सोगराथ ठाकुर विगत १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ। घरमा आमा रेणु ठाकुरले २ बिघा जमिन अधियाँ (बटैया) लिएर खेतीपाती गर्दै परिवार धान्दै आउनुभएको थियो। बुबाले पठाउने रेमिटेन्स नै उहाँको परिवारको जीविकोपार्जनको मुख्य आधार थियो।

शिक्षा र पेसागत यात्रा

रुवीले २०७४ सालमा एसईई (SEE) परीक्षा उत्तीर्ण गर्नुभएको थियो। त्यसपछि २०७७ सालमा ३ वर्षे 'डिप्लोमा इन इन्जिनियरिङ' पूरा गरी प्राविधिक शिक्षा हासिल गर्नुभयो। राजनीतिमा सक्रिय हुनुअघि उहाँ एक आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत हुनुहुन्थ्यो। आफ्नो पेसामा आबद्ध रहँदै गर्दा पनि उहाँमा सामाजिक परिवर्तनको भोक थियो। उहाँको काँधमा आफ्ना दुई बहिनी र दुई भाइको पढाइ पूरा गराउने ठुलो पारिवारिक जिम्मेवारी समेत रहेको छ।

राजनीतिक उदय र निर्वाचन

रुवीको राजनीतिक मोड २०८२ सालको चुनावी अभियानका क्रममा सुरु भयो। सोही समयमा उहाँको भेट चर्चित नेता हर्क साम्पाङसँग भएको थियो। निर्वाचनमा धनुषा क्षेत्र नं. ४ बाट 'श्रम संस्कृति पार्टी' को उम्मेदवारसँगै फिल्डमा खटिएकी रुवी अन्ततः २०८२ सालमा सोही पार्टी (श्रसंपा) बाट समानुपातिक सांसदको रूपमा निर्वाचित हुनुभयो।

सांसद बनेको छोटो समयमै उहाँले आफ्नो क्षमता प्रदर्शन गर्दै उपसभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएर इतिहास रच्न सफल हुनुभएको छ। सामान्य परिवारबाट आएकी एक शिक्षित र जुझारु युवती देशको उच्च ओहोदामा पुग्नुले आम युवाहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

अन्तिम अध्यावधिक: 2026-04-10 20:17:49

लेखकको बारेमा

  • सेकेण्ड कमिङ्ग

    हेटौडा मकवानपुर, बागमती प्रदेश

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस