Advertisement
Skip This

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने यन्त्र जडान

१९ बैशाख २०८२ (२ हप्ता अघि)

हेटौंडा / मकवानपुरमा चट्याङको उच्च जोखिम रहेको राक्सिराङ पालिकाले चट्याङको पूर्वसूचना दिने यन्त्र सेन्सरको साइरन जडान गरेको छ  । राक्सिराङ गाउँपालिका–५ को चैनपुरस्थित विद्यालय र पालिका भवनमा स्थापना गरेको हो । पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण गरिएको हो ।

चट्याङजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न सेन्सरले मद्धत पुर्याउने छ । चट्याङबाट राक्सिराङ गाउँपालिकामा चालु आवको १० महिनामा ४ जना घाइते भएका छन् । गाउँपालिकाको तथ्याङ अनुसार गत आवमा चट्याङवाट राक्सिराङ गापामा–२ जनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएका थिए ।

वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सरसहितको साइरन, वडा ६ को सिलिङेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन सक्छ,’ उनले भने । यसअघि नगरकोटमा सफल परीक्षण गरिएको थियो । यो प्रणालीले चट्याङ आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिने र सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्ने अनुसन्धानकर्ता श्रीराम शर्माको भनाइ छ ।

अन्तिम अध्यावधिक: १९ बैशाख २०८२
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस