नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति (सूचीसहित)

2026-05-18 21:19:31 (२ दिन अघि)

काठमाडौँ । नेपाल तामाङ घेदुङको दशौँ संघीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। जेठ १ देखि ३ गतेसम्म संघीय राजधानी काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट रामकृष्ण ब्लोन तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

 

गए राति निर्वाचन मण्डलले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, पाँच जना अध्यक्ष पदका उम्मेदवारबीच भएको कडा प्रतिस्पर्धामा रामकृष्ण ब्लोनले ३०६ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी कुमार सिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९, अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गर्नुभएको थियो।

 

प्रमुख पदाधिकारीहरूमा को-को चुनिए ?

नयाँ कार्यसमितिको सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी हरिजाङ तामाङले १३२ मत प्राप्त गर्नुभयो।

महासचिव पदमा लिलाकुमार घलान निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी, कोषाध्यक्षमा तिर्थमान बल र सहकोषाध्यक्षमा सिता चोदेन तामाङ पनि निर्विरोध चयन हुनुभएको छ।

 

उपाध्यक्ष र सचिवहरूको मतपरिणाम

पाँच खुल्ला उपाध्यक्ष पदका लागि भएको १२ जनाको प्रतिस्पर्धाबाट काजिमान थिङ, रुपबहादुर योन्जन, दिनेश कुमार लो, प्रेम लो तामाङ र पासाङदोर्जे लामा विजयी हुनुभएको छ। महिला उपाध्यक्षतर्फ दिना लामा र विना मम्बा तामाङ निर्वाचित हुनुभएको छ।

  • उपमहासचिव (खुल्ला): निर्मलबहादुर तामाङ र बिलाम मुक्तान (निर्विरोध)

  • उपमहासचिव (महिला): श्रमिक लामा (निर्विरोध)

  • सचिव (खुल्ला): सुनिल मोक्तान, सुन्दर थोकर तामाङ र हिरालाल तामाङ (विजयी)

  • सचिव (महिला): उषा वाइबा र संगीता तामाङ पाख्रिन (निर्वाचित)


 

बागमती प्रदेशमा तीव्र प्रतिस्पर्धा, लुम्बिनी र कर्णाली रिक्त

निर्वाचन मण्डलका आयुक्त कुमार ब्लोनका अनुसार प्रादेशिक संघीय सदस्यतर्फ बागमती प्रदेशमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको थियो। बागमतीको १४ खुल्ला सदस्य पदका लागि २० जना मैदानमा उत्रिएका थिए, जहाँ तीव्र प्रतिस्पर्धाबीच सदस्यहरू चुनिए भने महिलातर्फका सदस्यहरू निर्विरोध चयन भए।

यस महाधिवेशनमा प्रदेश नं. १, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम तथा प्रवास शाखाबाट प्रतिनिधिहरू निर्वाचित हुँदा लुम्बिनी र कर्णाली प्रदेशबाट भने कुनै पनि पदमा उम्मेदवारी नपरेको निर्वाचन मण्डलले जनाएको छ।

 

सपथ ग्रहण र आगामी लक्ष्य

महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

तामाङ समुदायको सर्वोच्च संस्था घेदुङको यो नयाँ नेतृत्वले आगामी कार्यकालमा तामाङ भाषा, कला, लिपि, संस्कृति, पहिचान र जातीय अधिकारका सवालहरूलाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिइएको छ।

 

अन्तिम अध्यावधिक: 2026-05-18 21:19:42

लेखकको बारेमा

  • किशोर ब्लोन नियोग

    लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस