

मनहरी । मनहरी गाउँपालिकाले 'मूल्य पारदर्शिता सप्ताह-२०८३' लाई भव्य रूपमा सफल पार्न गाउँवासी तथा व्यवसायीहरूमा विशेष अपील गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, रजैयाले एक सार्वजनिक सूचना जारी गर्दै सुशासनको महा-अभियानमा सहभागी हुन ६ बुँदे मार्गदर्शन सार्वजनिक गरेको हो।
गाउँपालिकाले जारी गरेको मुख्य बुँदाहरू यस प्रकार छन्:
मूल्य सूची अनिवार्य: प्रत्येक पसल वा व्यवसायले उपभोक्ताले सजिलै देख्ने गरी वस्तु वा सेवाको स्पष्ट मूल्य सूची अनिवार्य रूपमा राख्नुपर्ने।
बिलको प्रयोग: वस्तु वा सेवा खरिद-बिक्री गर्दा अनिवार्य रूपमा बिल लिने र दिने बानी बसाल्न आग्रह गरिएको छ। पालिकाले बिल दिनु व्यवसायीको दायित्व र बिल माग्नु उपभोक्ताको अधिकार भएको स्पष्ट पारेको छ।
गुणस्तर र मितिमा ध्यान: सामान खरिद गर्दा मूल्य, तौल, गुणस्तरका साथै उत्पादन र उपभोग मिति अनिवार्य रूपमा हेर्न अनुरोध गरिएको छ।
उजुरी प्रक्रिया: खरिदका क्रममा मूल्य, तौल वा गुणस्तरमा ठगिएको पाइएमा तत्काल मनहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य कार्यालय वा उपभोक्तावादी संस्थामा निवेदन दिन सूचित गरिएको छ।
सुशासन प्रवर्द्धनका लागि सचेत नागरिकको कर्तव्य निर्वाह गर्न समेत गाउँपालिकाले सबैमा आग्रह गरेको छ। यो अभियानले बजारमा पारदर्शिता ल्याउने र उपभोक्ताको अधिकार सुरक्षित गर्ने विश्वास लिइएको छ।
१
२
३
४
५