बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारदेखि सुरु भएको बागमती प्रदेश यूवा सम्मेलन २०८२ मा शुभकामना मन्तव्य राख्नुहुँदै मुख्यमन्त्री लामाले देशमा नेतृत्व तहमा यूवाहरू पुग्नका लागि कठिन परिस्थिति सिर्जना भएको र युवा जोस जाँगर स्खलित भएपछि मात्रै शासकीय संरचनाको नेतृत्व तहमा पुग्ने गरेको प्रवृत्ति विडम्बना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहि उमेर र सहि समयमा समयपेक्ष नेतृत्वले जिम्मेवारी नपाउँदा अपेक्षित परिणाम दिन नसकेको यथार्थ हो । यो सवालमा बागमती प्रदेश सरकारको धारणा स्पष्ट छ ।”
“युवाको सहभागिता र संलग्नता बिना प्रदेशको विकास हामी कल्पना समेत गर्न सक्दैनौँ । युवाको श्रम र सीपको मात्र सहभागिता खोजेका छैनौं, नेतृत्व र प्रतिनिधित्वमा युवाको बहुसङ्ख्यक अनुहार र साझेदारी खोजेका छौं । युवाहरूको आखाँबाट प्रदेशको विकासको प्रारूप कस्तो हुनुपर्छ ? र युवाहरूको नजरमा प्रदेशको सुशासन कस्तो हुनुपर्छ? भन्ने प्रश्नको उत्तर पनि यस ऐतिहासिक सम्मेलनमार्फत हुने छ भन्ने विश्वास मैले लिएको छु,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री लामाले आगामी वर्षको नीति, कार्यक्रम बजेटले बागमती प्रदेशको विकासमा युवाहरूको सहभागिता, सशक्तीकरण र साझेदारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेशको दोस्रो आवधिक योजनामा युवामा उद्यमशिलता र रोजगारी वृद्धि गर्ने तथा नेतृत्व, नीति विकासका युवा सहभागिता वृद्धि गर्ने मूल ध्येय प्रदेश सरकारको रहेको उहाँले बताउनुभयो ।
युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्नु र युवा पलायन रोक्नु सरकारको गम्भिर चुनौती रहेको उहाँले बताउनुभएको छ । शिक्षासँग सीप जोडिएन, भएको सीपले रोजगारी सिर्जना गर्न सकेन र उद्यमशीलता पनि सिर्जना भएन भएन भन्ने गुनासोलाई सम्बोधन गर्दै प्रदेश सरकारले बजेटको ठुलो हिस्सा युवाको सीप विकास तथा रोजगारी सिर्जनामा लगानी गरेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको दोस्रो आवधिक योजना र दिगो विकास लक्ष्यको आधारशीला निर्माण भएपश्चात् दिगो विकास लक्ष्य २०३० र युथ भिजन २०२५ ले पनि युवाको विकास र सहभागितालाई नै जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।
कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्ने उदेश्यले सीप विकास तालिम, बिउ पूँजी, प्रविधि हस्तान्तरण र व्याज अनुदान दिनेजस्ता कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालनमा ल्याएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सम्मेलनमा कृषि उत्पादनमा युवाको संलग्नता बढाउने उपायहरुका बारेमा घनिभूत छलफलका साथै उपयुक्त विकल्प होस् भन्ने चाहन्छु । स्वदेशमा अवसरको अभाव देखाउँदै माध्यमिक शिक्षा पूरा गर्ने बित्तिकै विदेशिने युवाहरूलाई रोक्न र स्वदेशमानै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारको कोसिस जारी छ ।”