हेटौँडा अस्पतालमा ४५ जना विशेषज्ञले सेवा दिन्छन्: मेसु डा. रामचन्द्र सापकोटा 

2025-06-06 08:06:33 (१ बर्ष अघि)

हेटौँडा । हेटौंडा हस्पिटलमा हाल ४५ जना विशेषज्ञले सेवा दिईरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले बताउनु भएको छ । केही वर्ष अघिसम्म ‘रिफर अस्पताल’को रूपमा परिचित हेटौँडा अस्पताल अहिले यस क्षेत्रका बिरामीहरूको भरपर्दो र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा परिणत भएको छ । यहाँको निजी अस्पताल र स्वास्थ्य संस्था भन्दा सरकारी अस्पतालमा बिरामीको विश्वास दिनानुदिन बढ्दै गएको हो । हाल बहिरङ्ग (ओपिडी) सेवा मात्रै दैनिक आठ सय भन्दा बढी बिरामीले लिएका छन ।

 

तीन सय शय्यामा सञ्चालित हेटौँडा अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालले सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुका साथै आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्दै सर्वसुलभ उपचार प्रदान गर्दै आइरहेको हेटौँडा अस्पतालका निमित्त अस्पताल निर्देशक वरिष्ठ कन्सल्टेन्ट अर्थेपेडिक सर्जन डा. रामचन्द्र सापकोटाले बताए । “हेटौँडा अस्पतालको स्तरोन्नति बढेसँगै सेवाग्राहीको चाप पनि बढेको छ, आवश्यक दक्ष जनशक्ति मार्फत सेवा प्रदान गर्दै आएका छौँ,”–डा.सापकोटाले भने । 

 

हेटौँडा अस्पतालका अनुसार चालु आर्थिक वर्षको दश महिनाको अवधिमा दुई लाख १४ हजार ३४५ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको छ । साउनमा २६ हजार ३८०, भदौमा २१ हजार ७३४, असोजमा १८ हजार ३८९, कार्तिकमा १९ हजार ४१९, मङ्सिरमा १९ हजार ७८१ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको छ ।

 

त्यस्तै पुसमा २० हजार ७५९, माघमा २२ हजार ५२९, फागुनमा २१ हजार ७३१, चैतमा २३ हजार ४६५ र वैशाख मसान्तसम्म २० हजार १२८ जना सेवाग्राहीलाई बहिरङ्ग सेवा प्रदान गरिएको हेटौँडा अस्पतालका मेडिकल रेकडर हरिश मल्लले जानकारी दिए । त्यस्तै दश महिनाको अवधिमा दुई हजार ६८४ जनाले हेटौँडा अस्पतालमा सुत्केरी गराएका छन ।

 

अस्पतालले डायलासिस, सिटी स्क्यान, एमआरआई, इसिजी, एएसयु, ओसिएमसी, एआरटी, इको, टिएमटी लगायतकाको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । यस्तै हाडजोर्नी, बालरोग, प्रसूति, दन्त फिजिसियन, नाक, कान, घाँटी, शल्यक्रिया, मनोरोग, आयुर्वेद, नेफ्रोलोजिष्ट र मुटुरोसम्बन्धी सेवा दिँदै आइरहेको छ । त्यस्तै अस्पताले बिरामीलाई निःशुल्क रूपमा गर्भवती सेवा, हर्नियालगायत विपन्न र निमुखाका लागि सामाजिक सेवा सञ्चालन गरिरहेको छ ।

 

मुटु रोग सम्बन्धी सेवा सुरु भएसँगै यो सेवाका लागि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता पनि कम भएको छ । अस्पतालमा मकवानपुरसहित छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र सर्लाहीका बिरामीले पनि सेवा लिइरहेका छन ।

अन्तिम अध्यावधिक: 2025-06-06 08:06:57
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस