बागमती प्रदेशको राजधानी हेटौडा बजार फराकिलो हुदै 

सडक सीमाभित्र बनेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम
2025-11-25 18:59:28 (६ महिना अघि)

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौडा बजार फराकिलो हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ हेटौंडा आएकै भोलिपल्ट हेटौंडामा पुनः २५ मिटर सडक विस्तारको चर्चा सुरु भएको हो । बिगतमा पटक पटक सूचना आएपनि कार्यान्वयन नभए पछी निराश बनेका जनता यो पटक भने हौसिएको छ । १५ दिने अल्टिमेटम सहित सडक डिभिजन हेटौडाले २०५२/०८/०५ मा प्रकाशित गरेको सुचनाले २५/२५ मिटर सडक विस्तार गर्न बाटो खुलेको हेटौडा उपमहानगरपालिकाकि मेयर मिना लामाले बताउनु भएको छ ।

शुक्रबार नै सडक डिभिजन कार्यालय हेटौंडाले उपमहानगर क्षेत्रमा पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने सडक अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ । कुनैपनि हालतमा बजार क्षेत्रको सडक खाली गर्ने तयारीमा बर्तमान सरकार रहेको बुझिएको छ ।

हेटौंडा उपमहानगरक्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा केन्द्ररेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको हो । सूचनामा १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५÷२५ गज (७५÷७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन भनेको हो ।

सडक डिभिजन हेटौंडाले फेरि जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको हो । सर्वोच्च अदालतको २०७८ पुस १९ गते तथा विभिन्न मितिका उत्प्रेषण आदेश समेतबाट सडक डिभिजन हेटौंडा अन्तर्गत पर्नेे रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५÷२५ गजको क्षेत्रमा क्षतिपूर्ति नपाउने भनी फैसला भएको सूचनामा उल्लेख छ ।

यो सडक बस्ती नभएका क्षेत्रमा ४ लेन र सहरीक्षेत्रमा ६ लेनको हुनेछ । चितवनको रत्ननगरदेखि भण्डाराको मार्तल खोलाको पुलसम्म ६ लेन सडक बन्ने छ । त्यहाँदेखि मकवनपुरको बसमाडीसम्म ४ लेनको हुनेछ । बसमाडीदेखि हेटौंडासम्म भने सडक ६ लेनकै बनाइनेछ । यो सडक विस्तारका लागि २०७७ मै परामर्शदाता छनोट गरिएको थियो । डीपीआर बनाउने जिम्मा सुसङ इआरएमसी टेक स्टुडिओ अफ इन्जिनरिङले पाएको थियो । यो कम्पनीले दुई वर्षभित्र डीपीआर २०७७ असोज १८ गते सडक विभागको आयोजना निर्देशनलयसँग १५ लाख ५७ हजार डलरमा सम्झौता गरेको थियो ।

हेटौंडा बजार क्षेत्रको सडकसीमा क्लियर भएपछि मन्त्रालयले पथलैया–हेटौंडा–नारायणगढ खण्डको सडक बिस्तार गर्न बोलपत्र आब्हान गर्ने तयारी गरेको छ । १०४ किलोमिटर लामो नारायणगढ–हेटौंडा–पथलैया सडक विस्तारका लागि ५२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसमा २ किलोमिटर लामो एउटा फ्लाइओभर बनाउने गरी डीपीआर तयार भएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरभण्डारक्षेत्रमा यस्तो फ्लाइओभर बनाउने प्रस्ताव छ । वन्यजन्तुको वासस्थान र हिँड्ने बाटोमा असर नपर्ने गरी फ्लाइओभर बनाउन प्रस्ताव गरिएको हो ।

भारत सरकारले सहयोग गरेको बेलीब्रीज हस्तान्तरणमा सहभागी हुन मन्त्री घिसिङ बिहिबार हेटौंडा आएका थिए । मन्त्री घिसिङ यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासकलाई भेटेर सडक फराकिलो बनाउन आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । 

बिगतमा राप्तीरोडमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । २०२१ देखि २०३४ को बीचमा १३ वर्षको अवधिमा ७ फिट जग्गामा बनाएको संरचना भत्काउँदा मात्रै क्षतिपूर्ति दिन सर्वोच्चले आदेश दिएको थियो ।

अन्तिम अध्यावधिक: 2025-11-25 18:59:40
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस