
लामो समयदेखि बागमती प्रदेशको राजधानी समेत रहेका हेटौंडा बजारका मुख्य सडकहरु फराकिलो बनाउनु पर्छ भनेर सडक डिभिजन कार्यालय तथा स्थानीय निकायले धेरै पटक सूचना प्रकाशित गरेर सडक फराकिलो गराउनका निमित्त अतिक्रमित संरचनाहरु हटाउन प्रयासहरु निकै गरे । तर पनि राजनीतिक खिंचातानी, स्थानीय अवरोध र अन्य प्राविधिक कारणले सडक फराकिलो बनाउन सकेन । त्यसो हुँदा प्रदेशको राजधानी समेत साँघुरिएको, भौतिक तथा वातावरणीय संरचनाहरुलाई असर पर्ने गरी अस्त व्यस्त पार्किङ्ग सडक कै कारण हेटौंडा शहरलाई प्रदेशको राजधानी भन्नका लागि सिर ठाडो गरी भन्न सक्ने अवस्था थिएन ।
हेटौंडा मात्रै होइन, यो सडक विस्तार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखा समेत रहेका छन् । २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउनु पर्ने हेटौंडामा मात्रै होइन, चितवन देखि हेटौंडा हुँदै वीरगञ्ज सम्म यसको सडक रेखा पर्दछ । चितवन र वीरगञ्जमा सडक विस्तार भइसकेको कारण हेटौंडा बजारलाई सडक व्यवस्थापन गर्न बाध्य तुल्याउँछ ।
सडक डिभिजन हेटौंडाले १५ दिने अल्टिमेटम दिँदै स्थानीय जनता सामु सूचना प्रकाशित गरेको छ । हेटौंडा उपमहानगरपालिका जस्ता स्थानीय सरकारले सडक विस्तारको लागि सर्वसम्मत निर्णय पारित गरेको छ । र भौतिक तथा पूर्वाधार मन्त्रालयले बजेटको व्यवस्थापनमा कमी नहुने आश्वासन भौतिक मन्त्री कुलमान घिसिङले दिइसकेको अवस्था हो । अब हेटौंडाका स्थानीय जनताले राज्यको उक्त निर्णयलाई स्वीकार गरेर विकासका कार्यलाई सघाउनु पर्छ । त्यसमा कुनै दुईमत छैन । तर राज्यले पनि घरधनी तथा व्यवसायीहरुलाई उचित मुआव्जा तथा क्षतिपूर्तिहरु न्याय सँगत कार्यान्वयन गर्नु पर्छ र गर्नै पर्छ । राज्यको तयारी र जनताको मनस्थितिलाई तौलिने अवस्था आएको छ । घरधनीहरुले मुद्दा दायर गरेको रिटमा सर्वोच्च अदालतले निर्णयलाई उल्टाइसकेको अवस्था हो । यसको मतलब सडक विस्तार गर्ने कार्य चाहिँ कुनै पनि हालतमा रोकिनु हुँदैन भन्ने कुराको दह्रो सांकेतिक फैसला हो ।
राजनीतिक दल, बुद्धिजीवि वर्गहरु, जेनजी युवाहरु मकवानपुर उद्योग वाणिज्य संघ लगायतले पनि विकास कार्यहरुलाई सघाउँदै राज्य र स्थानीय जनता बीच समन्वयकारी भूमिका निर्वाह गर्नु पर्छ । हेटौंडा सहरमा बागमती प्रदेशको राजधानी भन्ने लायकको बनाउने कर्तव्य सबै पक्षको हो । व्यक्तिगत स्वार्थहरु पर राख्दै सामूहिकता र सार्वजनिक सर्वाङ्गिण विकासमा एक पक्ष सडक विस्तार लाई हामी सबैले एकजुट भएर लाग्नु पर्छ, त्यो दिन टाढा छैन, हेटौंडा बजार सु–व्यवस्थित भएको हुनेछ र राष्ट्रिय स्तरमा उत्कृष्ट सिटी बन्नेछ । यो अभियानमा सबै
मकवानपुरबासीहरु एक जुट हुनु पर्ने देखिन्छ ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५