

हेटौंडा / राक्सिराङ गाउँपालिकाको प्रशासनिक नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको छ । ४३ कोठे भवन निर्माण गरेर राक्सिराङ गाउँपालिकाले आफ्नो कार्यालय छिट्टै सार्ने तयारी गरेको हो ।
२०७८ असारमा निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार ०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने थियो । तोकिएको समयभन्दा ४ महिना ढिला भए पनि पालिकाको भवन निर्माण कार्य सकिएको अध्यक्ष राजकुमार मल्लले बताए । ‘अब दुई साताभित्र निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गर्नेछ,’ उनले भने ।
जयमाता इन्जिनियरिङ निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको थियो । निर्माण कम्पनी अहिले भवन हस्तान्तरणको चरणमा जुटेको पालिकाका प्राविधिक धर्मराज चौधरीले बताए । करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । भवन हस्तान्तरण भएपछि पालिकाको कार्यालय र शाखा सबै एउटै छानामुनि हुने पालिकाका अध्यक्ष मल्लले बताए ।
राक्सिराङ गाउँपालिकाको कार्यालय अहिले चैनपुरमा नै छ । एकनाले कच्ची भवन निर्माण गरेर पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ । स्वास्थ्य, कृषिलगायत शाखा अन्य संघसंस्थाका भवनमा आश्रय लिएर बसेका छन् । मकवानपुर १० वटा पालिकामध्ये मनहरी, इन्द्रसरोवर र बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।
१
२
३
४
५