

मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीद्बारा आफ्नो तलब भत्ता वापतकाे रकमले विद्यार्थीहरुलाई पोसाक हस्तान्तरण गरेको छ । मनहरी-४ को पशुपतिनाथ माविका २३ जना विपन्न तथा दलित विद्यार्थीलाई साेमबार एक कार्यक्रमका बीच अध्यक्ष कालाखेतीले पोसाक सहयोग गरेको हो ।
विद्यालयकाे स्वर्ण महाेत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार रुपैयाँ मूल्य बराबरकाे पाेसाक सहयोग हस्तान्तरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरी सिफारिस गरेबमाेजिम आफ्नाे तलव भत्ताकाे रकमबाट सहयाेग गरिएकाे अध्यक्ष कालाखेतीले जानकारी दिए । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलव भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घाेष गरेका थिए ।
साेही उद्घाेष बमाेजिम उनले मनहरी ५ मा एकजना विपन्न एकल महिलाकाे घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणकाे काम भैरहेको छ । पशुपतिनाथ माविले स्वर्ण महाेत्सवका अवसरमा आयाेजिक सप्ताहव्यापी कार्यक्रम साेमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डाेत्ताेलन गरी उद्घाटन गरेका हुन् । स्वर्ण महाेत्सवकाे उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दाैड, बाेरा दाैडलगायतका प्रतियाेगिता गरिएकाे छ ।
विभिन्न कार्यकम गरी मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा स्वर्ण महोत्सव कार्यक्रमको समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गाैतमले जानकारी दिए । विव्यस अध्यक्ष गाैतमकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा मनहरी ४ नम्बर वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, ४ नम्बर वडाका निवर्तमान अध्यक्ष ध्रुब खड्कालगायतकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष प्रकाश थापाले विद्यालयको शैक्षिक स्तर सुधारका लागि पालिकादेखी वडासम्मले योजनाबद्ध काम गर्दै आएपनि सोचे अनुरुपको सुधार हुन नसकेको भन्दै यसतर्फ ध्यान दिन अनुरोध गरे । स्वर्ण महोत्सव मनाउनका लागि विद्यालयले आर्थिक सहयोग संकलन अभियान समेत सन्चालन गरिरहेको छ ।
१
२
३
४
५