

सौल कोरियामा आफ्नो बाबू आमाको सम्पति छोराछोरीमा आउँदा लाग्ने कर उच्च भएकाले कोरिया छाड्ने धनाढ्य दोब्बर बढेको छ । गत वर्ष २,४०० जना बाहिरिएको थियो । दक्षिण कोरियाबाट देश छाड्ने उच्च सम्पत्ति भएका व्यक्तिहरूको संख्या गत वर्ष दोब्बर हुँदै २,४०० पुगेको छ, जुन विश्वमै चौथो ठूलो बहिर्गमन हो ।
ब्रिटिस आप्रवासन परामर्श संस्था हेनली एन्ड पार्टनर्सका अनुसार कोरियामा ५० प्रतिशतभन्दा बढी लाग्ने उत्तराधिकार कर (Inheritance Tax) नै धनाढ्य वर्ग पलायन हुनुको मुख्य कारण बनेको छ। यो सूचीमा बेलायत, चीन र भारतपछि कोरिया चौथो स्थानमा रहेको छ। कोरियाबाट बाहिरिने धनाढ्यहरूको मुख्य गन्तव्य अमेरिका र क्यानडा रहेका छन् ।
कोरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (KCCI) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, हालको उत्तराधिकार कर प्रणाली यथावत् रहेमा सन् २०२४ मा ९.६ ट्रिलियन वोन रहेको कर राजस्व सन् २०७२ सम्म बढेर ३५.८ ट्रिलियन वोन पुग्ने अनुमान गरिएको छ।
केसीसीआईका अनुसार कोरियाको उत्तराधिकार कर प्रणाली दशकौँदेखि लगभग अपरिवर्तित रहँदै आएको छ । जसका कारण करको बोझ निरन्तर बढ्दै गएको छ। सन् २००२ मा केवल १,६६१ जना करदाताबाट २०२४ सम्म आइपुग्दा उत्तराधिकार कर तिर्ने संख्या २१,१९३ पुगेको छ।
त्यस्तै, कुल कर राजस्वमा उत्तराधिकार करको हिस्सा ०.२९ प्रतिशतबाट बढेर २.१४ प्रतिशत पुगेको छ। यसका कारण उत्तराधिकार कर अब केवल अति धनाढ्य वर्गमा सीमित नरही मध्यम वर्गसम्म फैलिन थालेको केसीसीआईको भनाइ छ। संस्थाले ५०–६० प्रतिशतसम्मको कर दरले पूँजी विदेश पलायनलाई तीव्र बनाइरहेको चेतावनी दिएको छ।
विशेषज्ञहरूले धनाढ्य वर्गलाई देशमै रोक्न तथा आर्थिक वृद्धिलाई जोगाउन उत्तराधिकार कर प्रणालीमा तत्काल कानुनी सुधार आवश्यक रहेको बताएका छन् ।
एजेन्सी
१
२
३
४
५