रास्ट्रपति र उनको घराना किन जेलमा छन्  ?

2026-02-07 18:08:16 (३ महिना अघि)

"१४ दिनको नेपाल बसाइँमा मैले जे अनुभव गरेँ" स-बिस्तार आफ्नो कुराहरु राख्न मन लाग्यो ।

सन २०२२ मा कोरियामा राष्ट्रपतिको चुनाव भएको थियो । कोरियाली जनता पुराना राजनीतिक व्यक्तिहरूबाट वाक्क-दिक्क भइसकेका थिए । विशेष गरी युवाहरू नयाँ, स्वच्छ छवि भएका, राष्ट्रप्रेमी तथा भ्रष्टाचारविरोधी राष्ट्रपतिको खोजीमा थिए ।

धेरैजना यस्ता पात्रको खोजीमा थिए । जसले कहिल्यै पार्टीको काम नगरेको होस्, जसले केवल कानुन चिनेको, मानेको र लागू गर्न सक्ने होस् ।

त्यही समयमा यहाँको पुरानो दलमध्ये एक कन्जरभेटिभ पार्टीले ३६ वर्षका एक युवालाई पार्टी अध्यक्ष बनायो ।

अर्को तर्फ, युन सक–योल भन्ने व्यक्तिलाई मुन जे–इन सरकारद्वारा यहाँको अभियोजन निकाय—(अख्तियार, महान्यायाधिवक्ता तथा सीआईबीसमेत अधिकार भएको शक्तिशाली ) संस्थामा नियुक्त गरियो ।

जसले आफूलाई नियुक्त गर्ने राष्ट्रपतिको विरुद्ध अनुसन्धान थालेर सत्ताबाट पीडित भएको जस्तो छवि बनाउँदै थिए ।

त्यतिबेला तत्कालीन प्रतिपक्षी पार्टीका केही नेताहरू, जो उनीसँग व्यक्तिगत रूपमा नजिक थिए, उनलाई राजीनामा दिएर आफ्नो पार्टीमा आउन उक्साइरहेका थिए। त्यसको विरोध पनि केहीले गरिरहेका थिए ।“पब्लिक पोलमा विपक्षी दलका नेताभन्दा केही अगाडि वा बराबरीमा देखिन्थे । तर, जुन पार्टीका दुई जना पूर्व राष्ट्रपतिलाई भ्रष्टाचार र राज्यसत्ताको दुरुपयोगको अभियोगमा क्रमशः १७ वर्ष र ३५ वर्षको जेल सजाय सुनाउन सफल भएका थिए, त्यही पार्टीमा जान उनलाई नैतिक संकट पनि थियो ।

परिणामस्वरूप, उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरे ।”

राजनीतिक विकाससँगै उनी तत्कालीन “जनताको शक्ति” भनिने कन्जरभेटिभ पार्टीका आधिकारिक उम्मेदवार बने र ०.७ प्रतिशत मतको सानो अन्तरले चुनाव जिते ।

चुनाव जितेपछि उनले प्रतिपक्षी दलका नेतामाथि पाँचवटा भ्रष्टाचारका मुद्दा लगाइदिए । आफ्नै पार्टीभित्र पार्टी अध्यक्षलाई निष्कासन गरे । त्यतिमात्र होइन, राष्ट्रपतिको भवन सरुवा गर्ने र सुरक्षा निकायमा ठूलो हेरफेर गर्ने काम पनि गरे ।

अर्को तर्फ, उनकी श्रीमती साना देखि ठूला घरानासँग पारिवारिक सम्बन्ध र युनिफिकेशन चर्चका मानिसहरूसँग महँगा उपहार लिने काम रोक्न कसैले सकेन ।

उनीमा राजनीतिक संस्कारको अभाव भएकै कारण होला, पार्टीहरूसँग र आफ्नै सांसदहरूसँग पनि राजनीतिक संवाद भएन । सबैलाई अपराधी, भ्रष्टाचारी र कानुन विरोधी मात्र देख्ने र आफूलाई “राष्ट्रवादी ट्याग” लगाएर विरोधीहरूलाई निर्मूल पार्न सैनिक शासनजस्तो शैली अपनाउने प्रयास गरियो । जसको परिणामस्वरूप आज दुवै जना—श्रीमान् र श्रीमती—जेलमा छन् ।

आदरणीय नेपाली दाजुभाइ, दिदीबहिनीहरू, यो हामी कोरियामा बसेका नेपालीहरूले प्रत्यक्ष रूपमा भोगेको अनुभव हो । यसले यो देशलाई कति ठूलो क्षति पुर्‍यायो भन्ने अनुमान हामी सजिलै लगाउन पनि सक्दैनौँ ।

कुनै पनि देशमा राजनीति गर्ने र सरकार चलाउने सपना देख्ने नेताहरूमा कम्तीमा पनि राजनीतिक संस्कार, संसदीय अभ्यासको अनुभव र प्रतिपक्षलाई केवल अपराधी होइन, राज्यसत्ताको साझेदारका रूपमा स्वीकार गर्ने क्षमता हुनुपर्छ । नत्र भने, उसले देशलाई अझ ठूलो संकटमा पार्न सक्छ ।

विरोधीलाई निर्मूल पार्न राज्यसत्ताको गलत प्रयोग गरियो भने देशमा असामान्य अवस्था सिर्जना हुन सक्छ ।

आज नेपालको चुनावी माहोलमा राजनीतिमा आउँदै गरेका नयाँ पुस्ताका नेताहरूले पुरानो पुस्ताका सबै नेताहरूलाई केवल अपराधी, भ्रष्टाचारी र फटाहा भनेर मात्र चित्रण गरिरहेका छन् ।

युवामाझ बढ्दै गएको असन्तुष्टिलाई केवल पुराना नेताहरूको आपराधिक गतिविधिको परिणाम भनेर सिकाइँदै, उनीहरूसँग बदला लिने भाष्य तयार गरिँदै छ ।

 

एकपटक चिसो दिमागले सोचौँ । जस नेतामा राजनीतिक संवाद गर्ने क्षमता छैन, प्रतिपक्षलाई राज्यसत्ताको साझेदारका रूपमा स्वीकार गर्न सक्ने योग्यता छैन—के उसले हाम्रो जस्तो संसदीय व्यवस्थामा राज्य सञ्चालन गर्न सक्छ ?

के दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार चलाउनुपर्ने अवस्था आएमा उसले समन्वय र सहमति कायम गर्न सक्छ ?

हो, विगत लामो समयदेखि चुनावमा गरिएका भाषणहरू व्यवहारमा लागू हुन सकेनन् । देश जुन गतिमा विकास हुनुपर्ने थियो, त्यो हुन सकेन । राज्यका संयन्त्रहरू जनताको सेवाभन्दा पनि केही पहुँचवालाको हितमा मात्र केन्द्रित हुने अवस्थामा पुगेका छन् । यस्तो अवस्थालाई सुधार गर्नैपर्छ ।

 

त्यसैले अब हामीले कुन पार्टी, कुन जाति, कुन क्षेत्र भन्ने कुरा हेर्नुभन्दा पनि राजनीतिक परिपक्वाता, परिवर्तनलाई स्वीकार गर्न सक्ने क्षमता, कसिलो नीति र स्पष्ट दृष्टिकोण राख्ने, जनताको सेवाका लागि आवश्यक कानुन बनाउन र प्रभावकारी रूपमा लागू गर्न सक्ने नेतालाई छान्न आवश्यक छ ।

 

कसैसँग बदला लिन वा राज्यसत्तालाई विरोधीहरू समाप्त गर्ने उद्देश्यले प्रयोग गरियो भने देश विकासतर्फ होइन, द्वन्द्वतर्फ फस्नेछ भन्ने अनुमान सजिलै गर्न सकिन्छ ।

 

कोरियामा जनताले हुर्काएको उम्मेदवार मानिएका राष्ट्रपतिलाई २.५ वर्षमै जनताले अपदस्थ गरेजस्तै अवस्था नेपालमा नआओस्, भिडले उकासेका नेताले देशलाई अनावश्यक अस्थिरतामा नधकेलून् भन्ने हार्दिक शुभकामना छ ।

 

 

यज्ञराज सुवेदी दक्षिण कोरियाको एनआरएनए पूर्वअध्यक्ष हुन् 

अन्तिम अध्यावधिक: 2026-02-07 18:08:24
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस