

दुबई । यूएईमा इरानी मिसाइल खस्दा एकको मृत्यु भएको छ । विशेष गरी अमेरिकी सैन्य आधार शिविर निशानामा परेको आशंका छ ।
युद्धको जोखिम बढ्दै गएपछि टर्किस एयरलाइन्सले कतार, कुवेत, बहराइन, यूएई, ओमान, लेबनान, सिरिया, इराक, इरान र जोर्डनका लागि आफ्ना सबै उडानहरू रद्द गरेको छ ।
इरान र इजरायलबिचको द्वन्द्वले अब खाडीका अन्य मुलुकहरूलाई पनि सिधै चपेटामा पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए पनि त्यसको भग्नावशेष खस्दा कम्तीमा एक जनाको मृत्यु भएको हो।
यसैबिच, इरानको फार्स न्युज एजेन्सीले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको पुष्टि गरेको छ। इरानका अनुसार कतारको अल-उदेद एयर बेस, कुवेतको अल-सालेम एयर बेस, यूएईको अल-धाफ्रा एयर बेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक आधार शिविरमाथि आक्रमण गरिएको छ।
यूएईको सरकारी समाचार एजेन्सीका अनुसार यो आक्रमण राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन हो। यूएईले यस उत्तेजक कदमको कडा जवाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको चेतावनी दिएको छ।
#एजेन्सी
१
२
३
४
५