

इस्टर सन्डेको उपलक्ष्यमा आज बिहान काठमाडौँका विभिन्न स्थानबाट इसाई समुदायका सदस्यहरूले र्याली निकालेका थिए। विभिन्न चर्च र समुदायबाट निस्किएको उक्त र्याली त्रिपुरेश्वरस्थित दशतर रङ्गशालामा पुगेर विशेष सभामा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूले यशु ख्रीष्टको महिमा गर्दै भजन गाउनुका साथै शान्तिको प्रार्थना गरेका थिए।
.jpg)
इसाई धर्मग्रन्थ बाइबलका अनुसार, इस्टर सन्डे यशु ख्रीष्टको पुनरुत्थान (ब्युँतिएको) को सम्झनामा मनाइने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो। यसको धार्मिक पृष्ठभूमि यस प्रकार छ:

पुनरुत्थानको विश्वास: करिब दुई हजार वर्षअघि शुक्रवार (गुड फ्राइडे) का दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो। क्रसमा मृत्यु भएको तेस्रो दिन अर्थात् आइतबार उनी पुन: जीवित भएको विश्वास गरिन्छ।
विजयको प्रतीक: यस दिनलाई मृत्युमाथि जीवनको र अधर्ममाथि धर्मको विजयको रूपमा लिइन्छ।
४० दिनको उपदेश: पुनरुत्थानपछि यशु ख्रीष्ट पृथ्वीमा थप ४० दिनसम्म आफ्ना अनुयायीहरूसँग बसेका थिए। सो समयमा उनले आफ्ना चेलाहरूलाई शिक्षा र आशीर्वाद दिएर पछि स्वर्ग गएको धार्मिक उल्लेख छ।

इस्टर सन्डेका दिन इसाई धर्मावलम्बीहरू चर्चमा भेला भई विशेष प्रार्थना गर्ने, उपहार साटासाट गर्ने र सामूहिक भोज खाने गर्छन्। नेपालमा पनि पछिल्ला वर्षहरूमा यो पर्व सामाजिक सद्भाव र एकताका साथ मनाउने प्रचलन बढ्दै गएको छ।
राजधानी बाहेकका अन्य जिल्लाहरूमा पनि आज चर्चहरूमा विशेष आराधना र खुसीयालीका कार्यक्रमहरू भइरहेका छन्।
१
२
३
४
५