मजदुरदेखि देशको १० औ सभामुखसम्म: डोलप्रसाद (डीपी) अर्यालको लोभलाग्दो उदय

2026-04-05 19:31:58 (२ महिना अघि)

काठमाडौँ । कुनै समय वैदेशिक रोजगारीका लागि जापानका सडक र रेस्टुरेन्टहरूमा पसिना बगाउने एक सामान्य ठिटो आज देशको सर्वोच्च विधायकी संस्था 'प्रतिनिधि सभा'को १०ौँ सभामुख बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्याल आइतबार प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएसँगै उनको जीवनको एउटा अध्याय पूरा भई नयाँ र चुनौतीपूर्ण अध्याय सुरु भएको छ।

 

मजदुरीदेखि उद्यमशीलतासम्मको यात्रा

२०३२ सालमा धादिङको ज्वालामुखीमा एक किसान परिवारमा जन्मिएका अर्यालको काठमाडौँ प्रवेश २०४९ सालमा भएको थियो। सुरुका दिनमा उनले काठमाडौँका रेस्टुरेन्टमा सामान्य मजदुरका रूपमा काम गरे। सपनाको खोजीमा २०५३ सालमा उनी जापान पुगे, जहाँ उनले करिब ८ वर्ष कडा परिश्रम गरे।

जापानबाट फर्किएपछि उनले पछाडि फर्केर हेर्नु परेन। पर्यटन, कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा उनले आफ्नो व्यावसायिक साम्राज्य खडा गरे। 'इजिलिंक रेमिटेन्स' को सिईओका रूपमा उनले हजारौँ नेपालीको पसिनाको कमाइ स्वदेश भित्र्याउने पुलको काम गरे।

 

राजनीतिमा प्रवेश र 'संकटको सारथी'

अर्यालको राजनीतिमा औपचारिक प्रवेश २०७९ असारमा रास्वपाको स्थापनासँगै भयो। २०७४ सालमा कालिकोटको रास्कोटमा अस्पताल निर्माण गर्ने क्रममा टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग जोडिएका अर्याल अन्ततः वैकल्पिक राजनीतिको अभियन्ता बने।

पार्टी स्थापनाको छोटो समयमै उनी दुई पटक श्रम मन्त्री बने। तर, उनको वास्तविक परीक्षा तब सुरु भयो, जब पार्टी सभापति रवि लामिछाने विभिन्न कानुनी झमेला र सहकारी प्रकरणमा जेल परे। जेनजी आन्दोलन र चौतर्फी राजनीतिक प्रहारका बीच पार्टीको अस्तित्व नै संकटमा परेका बेला अर्यालले "संकटको सारथी" बनेर रास्वपालाई जोगाए। बालेन्द्र शाह, विवेकशील साझा र विभिन्न समूहहरूसँगको समन्वय र एकतामा उनले खेलेको भूमिकाकै कारण आज रास्वपाले एकल बहुमतको सरकार बनाउन सफल भएको छ।

 

गृहमन्त्रीको दौडदेखि सभामुखको आसनसम्म

रास्वपाको एकल बहुमतको सरकार बनेपछि अर्याल शक्तिशाली गृहमन्त्री बन्ने चर्चा थियो। सभापति रवि लामिछाने पनि उनलाई कार्यकारी भूमिकामै राख्न चाहन्थे। तर, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन—विशेष गरी वरिष्ठ नेता बालेन्द्र शाहको अडानका कारण गृहमन्त्रीमा सुधन गुरुङ छानिएपछि अर्यालका लागि सभामुखको बाटो खुल्यो।

उनको शालीनता, राजनीतिक सुझबुझ र सबै दललाई समेट्न सक्ने समन्वयकारी क्षमताका कारण उनलाई सभामुखको रूपमा अघि सारिएको रास्वपा नेताहरूको भनाइ छ।

 

अबको ५ वर्ष: दलीय राजनीतिमा 'ब्रेक'

सभामुखमा निर्वाचित भएसँगै अर्यालको सक्रिय दलीय राजनीतिमा कम्तीमा पाँच वर्षका लागि 'ब्रेक' लागेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख बनेपछि उनले पार्टीको सबै जिम्मेवारीबाट अलग हुनुपर्नेछ।

धादिङको एउटा सामान्य गाउँबाट सुरु भएको उनको यात्रा, जापानको श्रम, काठमाडौँको उद्यमशीलता र छोटो समयको मन्त्री पद हुँदै आज प्रतिनिधि सभाको "रेफ्री" को रूपमा टुङ्गिएको छ। ३५ हजार ९३ मतका साथ काठमाडौँ–९ बाट निर्वाचित अर्यालले अब संसदको गरिमा जोगाउँदै कसरी सबै दललाई मिलाएर लैजान्छन्, त्यो भने हेर्न बाँकी छ।

अन्तिम अध्यावधिक: 2026-04-05 19:32:35
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस