मन्त्रिपरिषदका ६ ठूला बोल्ड निर्णय केके छ ? 

2026-04-05 22:34:37 (१ महिना अघि)

काठमाडौँ । सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सरकारी कार्यालय र शिक्षण संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

बैठकका मुख्य निर्णयहरू यस प्रकार छन्:

१. सातामा दुई दिन बिदा र नयाँ कार्यालय समय
इन्धन संकट टार्न सरकारले चैत २३ देखि शनिबार र आइतबार बिदा दिने घोषणा गरेको छ । यससँगै सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । यद्यपि, शैक्षिक संस्थाहरूको हकमा भने पुरानै समय यथावत रहनेछ ।

२. नयाँ शैक्षिक सत्र र विद्युतीय सवारीमा जोड
आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, इन्धनको परनिर्भरता घटाउन डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने भएको छ ।

३. अर्बौँको वैदेशिक ऋण सहायता स्वीकृत
सरकारले डिजिटल नेपाल र वित्तीय क्षेत्र सुधारका लागि ठूलो वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ:

डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट: एसियाली विकास बैंक (ADB) बाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन गरी कुल ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण ।

दिगो र समावेशी वित्त परियोजना: विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण ।

४. रासस अध्यक्षको राजीनामा स्वीकृत
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफ्नो पदबाट दिनुभएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

५. संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey)
नेपाल सरकारका सम्पूर्ण मन्त्रालय, सचिवालय, आयोग र मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न बैठकले पूर्वस्वीकृति प्रदान गरेको छ । यसले सरकारी संयन्त्रलाई थप व्यवस्थित र छरितो बनाउने अपेक्षा गरिएको छ ।

अन्तिम अध्यावधिक: 2026-04-05 22:35:24
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस