

यसै क्रममा हेटौडा उपमहानगरपालिकाकी प्रमुख (मेयर) मीना लामाले नगरका पौरखी युवाहरूको उच्च प्रशंसा गर्दै उनीहरूलाई नगरको 'गौरवका पात्र' को संज्ञा दिनुभएको छ। विशेष गरी शिक्षित युवा वर्ग व्यावसायिक कृषिमा लागेर समाज परिवर्तनको संवाहक बनेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
मेयर लामाले हेटौडाका सफल युवा कृषक सुरज लामाको उदाहरण दिँदै उहाँको मेहनत र जाँगरको प्रशंसा गर्नुभएको छ। हेटौडामा 'ड्रागन फ्रुट्स' लगायतका फलफूल उत्पादनमा सफल भइसकेका सुरजले अहिले मकवानपुरको भीमफेदी गाउँपालिका-५ स्थित सुपिङमा किवीको व्यावसायिक खेती सुरु गर्नुभएको छ।
किवीसँगै अन्य फलफूल र तरकारी खेतीमा सक्रिय सुरजले अहिले दर्जनौँ स्थानीयलाई रोजगारी समेत प्रदान गर्नुभएको छ। पढेलेखेका युवाहरू स्वदेशमै बसेर कृषि कर्ममा लाग्नु अहिलेको समयमा प्रशंसनीय कार्य भएको मेयर लामाको भनाइ छ।
युवा उद्यमीहरूको उत्साहलाई देख्दा राज्यले थोरै मात्र प्राविधिक र आर्थिक सहयोग पुर्याउन सके देश समृद्ध बन्न धेरै समय नलाग्ने मेयर लामाले विश्वास व्यक्त गर्नुभयो।
"पढेलेखेका सुरज जस्ता युवाहरू स्वदेशमै बसेर कृषिकर्म गर्नु सामान्य कुरा होइन। यस्ता पौरखी साथीहरूलाई म नमन गर्छु," मेयर लामाले भन्नुभयो, "तपाईंको यो जाँगरले अन्य युवाहरूलाई पनि स्वदेशमै केही गर्ने प्रेरणा मिल्नेछ। तपाईं प्रति हामीलाई गर्व छ।"
हेटौडालाई फलफूल र कृषि उत्पादनको हब बनाउन नगरपालिकाले पनि युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिने र पौरखी हातहरूलाई सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५