

क्याम्पस प्रमुख सिलवालका अनुसार अबको शैक्षिक दिशा र क्याम्पसको भविष्यका लागि यो कदम अपरिहार्य छ।
नयाँ शिक्षा ऐन र व्यवस्थाअनुसार कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिएको छ। क्याम्पसमा यसअघि नै ११ र १२ सञ्चालन भइरहेकोमा अब ९-१२ को अवधारणा कार्यान्वयन गर्न हेटौंडा उपमहानगरपालिकाबाट कक्षा ९ को भर्ना अनुमति प्राप्त भइसकेको छ। वि.सं. २०८३ देखि सीमित सिटमा कक्षा ९ को भर्ना खोलिने क्याम्पसले जनाएको छ।
"क्याम्पसले स्कुल चलाउन पाउँछ र?" भन्ने प्रश्नको उत्तर दिँदै डा. सिलवालले भन्नुभएको छ— "नेपालका धेरै सामुदायिक क्याम्पसहरूले विद्यालयको अनुमति लिएर सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। हेटौंडाका लागि यो नयाँ अभ्यास देखिए पनि राष्ट्रिय रूपमा यो नौलो विषय होइन।"
डा. सिलवालले त्रिभुवन विश्वविद्यालयको ल्याबोरेटोरी मा.वि. र काठमाडौँ विश्वविद्यालय (KU) को केयू हाई स्कुल (जहाँ ECD देखि १२ सम्म पढाइ हुन्छ) लाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभएको छ। अमेरिका र युरोपका ठूला विश्वविद्यालयहरूले पनि आफ्नै विद्यालय सञ्चालन गर्ने गरेको र सोही 'विशिष्ट' प्रयोजनका लागि मकवानपुर क्याम्पसले यो कदम चालेको उहाँको तर्क छ।
मकवानपुर बहुमुखी क्याम्पस अब 'मानित विश्वविद्यालय' (Deemed University) मा रूपान्तरण हुने प्रक्रियामा छ। विश्वविद्यालयको आफ्नै विद्यालय हुनु अनिवार्य र विशिष्ट आवश्यकता रहने भएकाले पनि यसको दूरगामी महत्त्व रहेको क्याम्पस प्रशासनको दाबी छ।
विश्वविद्यालयहरूले केवल कक्षाकोठा मात्र होइन, कृषि फार्म, होटल, उद्योग र जलविद्युत आयोजनासमेत सञ्चालन गर्ने विश्वव्यापी मान्यता छ। दीर्घकालमा मकवानपुर क्याम्पसले पनि यस्ता उत्पादनमूलक क्षेत्रमा हात हाल्ने संकेत क्याम्पस प्रमुखले गर्नुभएको छ।
क्याम्पस प्रमुखको आग्रह: डा. सिलवालले फेसबुकमा व्यक्त चिन्ता र चासोलाई सम्बोधन गर्दै भन्नुभएको छ— "जिज्ञासा राख्दा स्वअध्ययन गरेर आउनुहुन अनुरोध छ। थप स्पष्ट पार्न हामी छिट्टै प्रेस मिट पनि गर्नेछौँ।"
थप जानकारीका लागि: क्याम्पस प्रमुख डा. यम सिलवाल (९८५५०६७६२०) सँग सिधै सम्पर्क गर्न सकिने क्याम्पसले जनाएको छ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५