

मेयर लामाले विकासका क्रममा देखिने 'निर्ममता' र त्यसपछिको 'सुन्दरता' लाई जोड्दै प्रधानमन्त्री शाहको कार्यशैलीको बचाउ गर्नुभएको हो।
बालेन शाह काठमाडौं महानगरको प्रमुख हुँदा उहाँलाई नजिकबाट चिन्ने मौका पाएको स्मरण गर्दै मेयर लामाले भन्नुभएको छ, "उहाँमा देश निर्माणको भिन्न चेतना, भिन्न हठ र अनौठो आँट छ। उहाँको यो आँटलाई जनताले मात्र होइन, समयले पनि साथ दिएको छ।" विकासका क्रममा सुकुम्बासी बस्ती हटाउँदा उहाँ कठोर देखिए पनि समग्र देश र जनताप्रति उहाँको हृदय विशाल रहेको लामाको ठम्याइ छ।
विगतमा माइतीघर मण्डला, शान्ति बाटिका र पशुपति क्षेत्रका संरचना भत्काउँदा भएको चर्को आलोचना र अहिले ती स्थानमा देखिएको सुन्दरतालाई उहाँले उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। "त्यतिबेला पनि आलोचना भएको थियो, तर अहिले ती क्षेत्रमा भएको सिर्जनाले नै देखाउँछ—विनाश पछिको विकास कस्तो हुन्छ," उहाँले उल्लेख गर्नुभएको छ।
मेयर लामाले परिस्थितिवश सुकुम्बासी बन्न पुगेका नागरिकहरूलाई अपमान नगर्न पनि सबैलाई आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, "उहाँहरू हाम्रै दाजुभाइ हुनुहुन्छ। नियतिले सुकुम्बासी बनाएका नागरिकको नागरिक हक र अधिकारको ख्याल गरिनुपर्छ।" साथै, प्रधानमन्त्रीले सुकुम्बासीलाई अलपत्र नपार्ने र उचित व्यवस्थापनको तयारीका साथ मात्र बस्ती खाली गराउन निर्देशन दिएको कुरामा उहाँले विश्वास व्यक्त गर्नुभएको छ।
विकासमा अवरोधक नबन्न आग्रह गर्दै मेयर लामाले सन्देशको अन्त्यमा भन्नुभएको छ— "सम्पत्तिले एक-दुई पुस्तालाई खुसी देला, तर देश सुन्दर भए खुसी पुस्तान्तरण हुँदै जान्छ। सम्पत्तिले देश जोगिन्न, तर देशले सम्पत्ति र जीवन दुवै जोगाउँछ।"
बालेन शाह र मीना लामा दुवै स्थानीय तहबाट नेतृत्व गर्दै आएका व्यक्तित्व हुन्। मेयर लामाको यो सन्देशले अहिलेको विषम परिस्थितिमा सरकार र नागरिकबीच समन्वयको पुलको काम गर्ने अपेक्षा गरिएको छ।
मेयर मीना लामाले सबैलाई अपिल गर्दै भन्नुभयो: विकासको सुरुवाती चरण 'क्रुर' देखिए पनि परिणाम 'सुन्दर' हुने हो । प्रधानमन्त्री बालेन शाहको देश प्रेम र आँटको प्रशंसा, सुकुम्बासी नागरिकको अपमान नगर्न र उचित व्यवस्थापन गर्न आग्रह, माइतीघर र रानीपोखरी जस्तै भविष्यमा नदी किनार र सडक सुन्दर बन्ने विश्वास साथै विकासका लागि सबैलाई हातेमालो गर्न आह्वान गर्नु भएको छ ।

लेखक, सेकेण्ड कमिङ्ग साप्ताहिकमा सञ्चार र पत्रकारितामा बिगत लामो समयदेखि संलग्न छन् ।
१
२
३
४
५